काठमाडौं । उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिहरूमाथि अनुसन्धानको दायरा फराकिलो बन्दै गएको छ। पूर्वमुख्यसचिव एकनारायण अर्यालपछि अब वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँ पनि प्रहरी अनुसन्धानको घेरामा परेका छन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बानियाँलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको हो।

यसअघि ठगी तथा संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ अनुमति लिइएको थियो। उनी फरार रहेको जनाइएको छ।

मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरिएको प्रकरणमा सीआईबीले यसअघि पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित ६ जनालाई पक्राउ गरिसकेको छ।

सीआईबीको अनुसन्धानअनुसार कानुनविपरीत गरिएका नीतिगत निर्णयमार्फत १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा अपचलन भएको खुलेको छ।

एकपछि अर्को उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिहरू अनुसन्धानको दायरामा आउन थालेपछि राजनीतिक वृत्तमा व्यापक चासो बढेको छ। यस प्रकरणमा थप को–को अनुसन्धानको दायरामा आउँछन् र आर्थिक अनियमितताको वास्तविक सञ्जाल कहाँसम्म फैलिएको छ भन्ने विषय चासोको केन्द्र बनेको छ।

यद्यपि, पक्राउ अनुमति जारी हुनु वा अनुसन्धानमा तानिनु दोषी ठहर हुनु होइन। अनुसन्धान र न्यायिक प्रक्रियाबाट मात्रै कसुरको अन्तिम टुङ्गो लाग्नेछ।

7
Shares
७ मंसिर २०८३, आईतवार १६:५७