बंगलादेशको नाराइल जिल्लास्थित कालिया उपजिल्लाको बेन्डार चार गाउँमा अवामी लिगका नेता तथा कार्यकर्तासँग सम्बन्धित घरहरूमा तोडफोड र आगजनी भएको छ। घटनामा ५० भन्दा बढी आवासीय संरचनामा आगलागीबाट क्षति पुगेको विवरण सार्वजनिक भएको छ। केही पसलहरूसमेत आगजनीको निशानामा परेको बताइएको छ।
नोभेम्बर २० शुक्रबार दिउँसोदेखि रातिसम्म भएको उक्त घटना दुई दिनअघि दुई जना बंगलादेश नेसनलिस्ट पार्टी (BNP) सम्बद्ध नेताको हत्या भएपछि भएको हो। उक्त हत्यापछि आक्रोशित समूहले अवामी लिगका नेता तथा कार्यकर्तासँग सम्बन्धित घरहरूलाई निशाना बनाएको स्थानीय विवरणहरूमा उल्लेख छ।आगलागीबाट पूर्वसांसद बीएम कबिरुल हक मुक्तिको पुर्ख्यौली घर तथा कालिया नगरपालिकाका पूर्वमेयर फकिर मुशफिकुर रहमान लिटोनको निवाससमेत प्रभावित भएको बताइएको छ।
यद्यपि क्षतिको यकिन विवरणमा फरक–फरक तथ्य सार्वजनिक भएका छन्। दमकल कार्यालयका अधिकारीले २० देखि २५ घरपरिसरका ५० भन्दा बढी आवासीय संरचनामा क्षति पुगेको बताएका छन् भने स्थानीय प्रशासनले १५ देखि २० घरमा तोडफोड भएको र केही संरचनामा आगजनी गरिएको जनाएको छ।घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। स्थानीय BNP नेताहरूले भने आफ्ना नेता तथा कार्यकर्ता घटनामा संलग्न रहेको आरोप अस्वीकार गरेका छन्।
राजनीतिक विवाद र हिंसाका कारण सर्वसाधारणको घर तथा सम्पत्तिमा क्षति पुग्नुले बंगलादेशको सुरक्षा अवस्थाप्रति थप चिन्ता उत्पन्न गरेको छ।