काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणमा जान लागेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भ्रमण सफलताको शुभकामना दिँदै राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताप्रति सचेत रहन आग्रह गरेको छ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राख्न सुझाव दिएका हुन्।

आचार्यले यस्ता महत्त्वपूर्ण विदेश भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल तथा राष्ट्रपतिसँग आवश्यक परामर्श गर्नुपर्ने भए पनि त्यसो नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उनले नेपाल–भारत सीमा तथा भूभागसम्बन्धी विषयमा नेपालको स्थापित अडान, ऐतिहासिक प्रमाण र राष्ट्रिय सहमतिअनुसार स्पष्ट तथा जिम्मेवार धारणा राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

विशेषगरी सीमा विवादका विषयमा नेपालको दाबी कमजोर हुने अभिव्यक्ति नदिन सचेत गराउँदै आचार्यले भनेका छन्, ‘नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुपर्ने परिस्थिति नआओस्। लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला।’

त्यसैगरी, उनले प्रधानमन्त्रीले घोषणापत्रमा उल्लेख गरेका रोजगारी, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

एमालेले प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपालको राष्ट्रिय स्वाभिमान कायम राख्दै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने र नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस उपलब्धि हासिल हुने अपेक्षा गरेको छ।

आचार्यले भ्रमणबाट फर्किएपछि भएका छलफल, समझदारी तथा उपलब्धिबारे संसद् र जनतालाई जानकारी गराउनसमेत प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

भारत भ्रमणअघि नै एमालेले दिएको यो सन्देशले प्रधानमन्त्रीको विदेश भ्रमण र नेपालको राष्ट्रिय हितका विषयलाई राजनीतिक बहसको केन्द्रमा ल्याएको छ।

14
Shares
७ मंसिर २०८३, आईतवार १३:०९