विद्यार्थीका अनुसार विश्वविद्यालयका कर्मचारीकै त्रुटिका कारण मार्कसिटमा नामको हिज्जे गलत भएपछि सच्याउनका लागि ३०० रुपैयाँ शुल्क तिर्नुपर्ने अवस्था छ। आफूले गल्ती नगरेको अवस्थामा पनि कर्मचारीको लापरबाहीको आर्थिक भार विद्यार्थीमाथि थोपर्नु अन्यायपूर्ण भएको उनको भनाइ छ।
‘कर्मचारीले नाम Entry गर्ने बेलामा Spelling बिगारिदिन्छन्। एउटा मार्कसिट सच्याउन ३०० रुपैयाँ तिर्नुपर्ने रे। तपाईंहरूले गरेको गल्तीमा हामीले पैसा तिर्ने हो त भन्दा यहाँ यस्तै हो भन्ने जवाफ पाइन्छ,’ विद्यार्थीको गुनासो छ।विद्यार्थीले विश्वविद्यालयको यस्तो कार्यशैलीप्रति प्रश्न उठाउँदै आफ्नो गल्ती नभएको अवस्थामा सुधार शुल्कसमेत विद्यार्थीले नै बेहोर्नुपर्ने व्यवस्था तत्काल अन्त्य गर्न माग गरेका छन्।
विश्वविद्यालयमा सुधारका लागि ठूला नीतिगत घोषणा मात्र नभई विद्यार्थीले दैनिक रूपमा भोगिरहेका यस्ता साना तर प्रत्यक्ष अन्यायको अन्त्य आवश्यक रहेको उनीहरूको भनाइ छ।यस विषयमा नयाँ उपकुलपतिको समेत ध्यानाकर्षण गराउँदै कर्मचारीको गल्तीका कारण विद्यार्थीले अनावश्यक आर्थिक भार र झन्झट बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरिएको छ।
अब प्रश्न उठ्छ—विश्वविद्यालयको गल्तीको सजाय विद्यार्थीले कहिलेसम्म भोग्ने?